मङ्गलबार, ३० भदौ २०८३
एमालेमा पार्टी पुनर्गठनको बहस अझै तीव्र बन्ने देखिएको छ । अध्यक्ष केपी ओलीले पुनर्गठनको विषय सचिवालयबाटै रोक्न खोजे पनि बहुमत सदस्य फरक कित्तामा उभिएपछि कार्यदल गठन गर्न बाध्य भएका हुन् । आइतबार सम्पन्न सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिवहरू छविलाल विश्वकर्मा र भानुभक्त ढकाल, केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र प्रदेशका इन्चार्जहरू पदेन सदस्य छन् ।
सुरुमा ओली कार्यदल गठन गर्न तयार नभए पनि आफूपक्षका नेताहरूसमेत पुनर्गठनको पक्षमा उभिँदा अल्पमतमा परेपछि लचिलो भएका थिए । बहुमत सदस्यले पुनर्गठन गरेर नजाने हो भने पार्टी थप कमजोर हुने धारणा राखेका थिए । थप कमजोर हुने ठानेर ओली कार्यदल गठन गर्न सहमत भएको एक पदाधिकारीले बताए । कार्यदल गठनको वेलामा पनि ओलीले नीति र नेतृत्वमा प्रश्न नउठोस् भन्ने आशय प्रकट गरेका थिए । ओलीले सुरुमा कार्यदल संयोजकमा विष्णु पौडेलको नाम लिएका थिए । ‘तपाईंले विषय उठाउनुभयो । कार्यदलको नेतृत्व पनि तपाईं लिनुस्,’ ओलीले भनेका थिए । तर, पौडेलले अरू साथीलाई नै जिम्मा दिऊँ भनेपछि ओलीले तत्कालै बादलको नाम लिएका थिए । पुनर्गठन पक्षधर नेताहरूको चाहना पौडेलकै संयोजकत्वमा कार्यदल बनोस् भन्ने थियो । तर, पौडेलको कमजोरीमा ओलीको चाहनाअनुसार नै कार्यदल गठन भएको अर्का पदाधिकारीले बताए ।
‘ओली खेल्न सिपालु हुनुहुन्छ । संयोजकमा पौडेलको नाम सुरुमा प्रस्ताव गरेजस्तो गर्नुभयो । पौडेलले आनाकानी गरेको सुइँको पाएपछि बादलको नाम लिइहाल्नुभयो,’ ती पदाधिकारीले भने । बादलको नाम लिएपछि भने पौडेलले ‘प्रस्ताव गर्नुहुन्छ भने मै गरौँला नि त’ भनेका थिए । उपाध्यक्ष एवं कार्यदल सदस्य पृथ्वीसुब्बा गुरुङले पनि पौडेलले आनाकानी गरेपछि बादल संयोजकत्वमा कार्यदल बनेको संकेत गरे । ‘विष्णु पौडेलले सुरुमा ‘म नगरौँ’ भन्नुभयो । त्यसपछि अध्यक्षले फ्याट्टै बादलको नाम लिनुभयो । उहाँले चाहनुभएको पनि त्यही थियो,’ उनले भने । गुरुङले केन्द्रदेखि तल्ला कमिटीसम्मै पुनगर्ठनको आवश्यकता रहेको बताए । ‘कार्यदलले पुनगर्ठनको खाका ल्याउँछ । केन्द्रीय अध्यक्षको विषय मात्रै होइन । तलसम्मकै संरचनाको पुनर्गठन आवश्यक छ,’ गुरुङले भने, ‘पुनर्गठनको विषयमा तलसम्मै छलफल हुन्छ ।’
अर्का पदाधिकारीका अनुसार ओलीले उपमहासचिव योगेश भट्टराईलाई ‘तपाईं बस्नुहुन्छ त’ भनेर सोधेका थिए । भट्टराईले सुरुमा श्रीमतीको स्वास्थ्यको कारण देखाएका थिए । त्यसपछि ‘अध्यक्षको प्रस्ताव स्विकार्ने’ बताए पनि उनी कार्यदलमा परेनन् । उपाध्यक्ष गोकर्ण विष्टको नाममा भने ओली सुरुदेखि नै नकारात्मक बनेको ती पदाधिकारीले बताए । ‘संयोजकमा पौडेल र सदस्यमा भट्टराई उहाँहरूकै कारण पर्नुभएन । हाम्रो चाहना पौडेलकै नेतृत्वमा कार्यदल बनोस् भन्ने थियो । त्यही ढंगको छलफल पनि हामीबिच भएको थियो । उहाँहरूले सुरुमै स्वीकार नगर्दा ओलीको चाहनाअनुसार नै भयो,’ ती पदाधिकारीले भने, ‘ओलीले गोकर्ण विष्टलाई कार्यदलमा राख्नै चाहनुभएन । नेताहरूले विष्टको नाम लिँदा पनि रेस्पोन्स गर्नुभएन ।’ उपाध्यक्ष विष्टको नाम कार्यदलमा राख्न अर्का उपाध्यक्ष गुरुङले पटक–पटक नाम लिएका थिए । तर, ओलीले ती प्रस्ताव सुनेनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।