बिहिबार, १ असोज २०८३
काठमाडौँमा आजदेखि अहिंसा महोत्सव सुरु भएको छ । अहिंसा महोत्सवमा पृथ्वीदेखि पशुपक्षीमाथि मानवजातिले गर्ने हिंसा र त्यसलाई घटाउनेबारे विभिन्न प्रवचन तथा बहस हुनेछन् । पोषणविद्, चिकित्सक, पशु अधिकारका क्षेत्रमा काम गरिरहेका अन्तरराष्ट्रिय प्रतिनिधिहरू महोत्सवका लागि निम्त्याइएका छन् ।
कार्यक्रम पूर्ण वनस्पतिजन्य भोजनका कक्षदेखि वनस्पतिजन्य उत्पादनका कक्षसमेत रहेका छन् । कार्यक्रममा मासुको विकल्पमा धेरैलाई रुचाइएको सेइटानका परिकार चाख्न पाइनेछ । त्यस्तै, भूइँकटहरबाट बनेको ‘छाला’को झोलासमेत प्रदर्शनीको आकर्षणका रूपमा रहेको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले जलवायु परिवर्तन घटाउनेदेखि मानव स्वास्थ्यको हितका लागि अहिंसामय जीवन आवश्यक रहने बताउनुभयो । उहाँले भन्नुभयो, “शाहाकारले पशुसँगै समस्त मानवको हित गर्छ, अतःपृथ्वीवासीले पशुजन्य भोजन कम गर्दै पूर्ण वनस्पतिजन्य भोजनतर्फ लम्कनु आवश्यक छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सबै किसिमका हिंसाको जड शक्ति संरचना रहेकाले शक्तिको समतामूलक र विवेकशील विभाजन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भौतिक र शारीरिक मात्रै नभई मानसिक हिंसाको अन्त्य गर्न हामीले काम गर्नुपर्छ । एउटा संस्कृतिले अर्को संस्कृतिमाथि र पुरुषले महिलामाथि गरेको हिंसाबारे हामीले बृहत् रूपमा बुझ्नुपर्छ ।”
कार्यक्रममा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले धेरैजसो धर्मको सार अहिंसा रहेको तर कतिपयले धर्मभित्रसमेत हिंसाका अंश छिराएर धर्मलाई विरूप बनाएको बताउनुभयो । शुक्रबार र शनिबार खानपानलगायत विभिन्न विषयमा अन्तरराष्ट्रिय प्रतिनिधि, अहिंसावादीहरूका विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव शनिबारसम्म चल्नेछ ।