बिहिबार, १४ साउन २०८३
कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनअघि नै पार्टीको नियमित १५औँ महाधिवेशनको तालिका ल्याएर विवाद समाधान गर्न तयार भएका छन् । शनिबार पार्टी पदाधिकारी र नेताहरूसँगको छलफलमा देउवाले चुनावअघि महाधिवेशन गर्न सकिने मितिमा सहमति खोज्न आग्रह गरेका छन् । आफू निकटस्थ नेताहरूसँग थप छलफल गरेर आइतबारसम्म सहमति खोज्ने र सोमबारको केन्द्रीय समितिबाट नियमित महाधिवेशनको कार्यतालिका पारित गर्दै विवाद मिलाउने देउवाको तयारी छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवाको प्रस्तावलाई सर्तसहित मान्न तयार रहेको उल्लेख गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूले पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै महाधिवेशन टार्न खोजिए विधानत: विशेष महाधिवेशन प्रक्रिया सुरु हुने चेतावनी दिएका छन् । नेताद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिका बहुमत सदस्य आफूहरूसँग रहेको भन्दै निर्वाचनअघि महाधिवेशनमा जान नसकिने बताएका छन् ।
देउवानिवास महाराजगन्जमा आयोजित छलफलमा देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए । बैठकको सुरुमै देउवाले भने, ‘मंसिर, पुस, माघ कहिले नियमित महाधिवेशन गर्ने हो, तपाईंहरू सहमति गर्नुस् । विशेष महाधिवेशन रोक्नुस् । पार्टी एकता कायम गर्नुस् ।’ उनले विशेष महाधिवेशन फिर्ता लिन र पुस वा माघमा नियमित महाधिवेशन गर्न सबै तयार हुनुपर्ने बताएका थिए ।
निधि र सिटौलाले देउवाको भनाइमा असहमति जनाए । ‘तपाईंको भनाइमा हामी सहमत छैनौँ । निर्वाचनअघि पुस वा माघमा महाधिवेशन गर्ने कुराले पार्टीमा तिक्तता बढ्छ र पार्टीलाई निर्वाचनमा ठुलो असर पुग्छ । वैशाखको कार्यतालिका पारित गरौँ या त केन्द्रीय समितिको बहुमतबाट निर्णय गरौँ ।’ उनीहरूले आफूहरू दुईजनाको मात्र धारणा नभएर ९० जना केन्द्रीय सदस्यको धारणा यही रहेको जिकिर गरेका थिए । स्रोतका अनुसार वैशाखअघि महाधिवेशन तालिका ल्याउन खोजिए आफूहरू ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै निधि र सिटौलाले विरोध जनाएका थिए ।
शनिबारको बैठकमा महामन्त्री शर्मा, नेता कोइराला र रमेश लेखकले पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएका थिए । महामन्त्री थापाले सभापति देउवालाई विशेष महाविधेशन आह्वान गर्न आग्रह गरे । उनले सभापति देउवाको सम्मानमा आँच आउने वा पार्टी विभाजन गर्ने मनसाय नभएको, तर उनको सम्मानजनक बहिर्गमनको पक्षमा आफू रहेको बताएका थिए । थापाले पुसभित्र नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्तावमा आफू नकारात्मक नरहेको, तर यही आधारमा विशेष महाधिवेशको प्रस्ताव फिर्ता गराउन नसक्ने पनि बताएका थिए । ‘म विशेष महाधिवेशन प्रस्ताव फिर्ता लिने कुराको जिम्मा लिन सक्दिनँ,’ उनले भने ।
महामन्त्री थापाले महाधिवेशन नगर्ने गरी कार्यतालिका ल्याउने कुराले अर्थ नराख्नेमा पुन: जोड दिएका थिए । ‘हामीले महाधिवेशनको तालिका खोजेका होइनौँ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि र हामी सबैले निर्वाचनअघि महाधिवेशन खोजेका हौँ,’ थापाको भनाइ थियो, ‘नियमित महाधिवेशनको कार्यतालिका ल्याउने, तर पुसभित्र महाधिवेशन प्रक्रिया सुरु नगर्ने, आलटाल गर्ने अवस्था आयो भने विशेष महाधिवशेन प्रक्रिया सुरु हुन्छ ।’ थापानिकट एक नेताले थपे, ‘पुसभित्र नियमित महाधिवेशनको तालिकामा हामी सहमत छौँ । तर, जुन दिन महाधिवेशन प्रक्रिया रोकिन्छ, त्यही दिनदेखि विशेष महाधिवेशन प्रक्रिया सुरु हुन्छ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।