शुक्रबार, १५ साउन २०८३
पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई निशाना बनाएर अफगानिस्तानको पाक्तिया, पाक्तिका र कुनार प्रान्तमा सटीक हवाई आक्रमण गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त कारबाहीमा २५ जना आतङ्कवादी मारिएका छन् भने सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा थप चार जना लडाकू मारिएका छन् । पाकिस्तानले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट अलगिएको जमात–उल–अहरार समूहलाई लक्षित गरिएको जनाएको छ ।
यता तालिबान सरकारले तीनवटै पूर्वी प्रान्तमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सैन्य कारबाहीको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिनुभएको छ । अफगान अधिकारीहरूले आफ्नो भूमिमा विदेशी विद्रोही समूहलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएयता पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । फेब्रुअरीमा एक सातासम्म चलेको भीषण सङ्घर्षपछि दुवै देशले मार्चमा युद्धविराममा सहमति गरेका थिए, तर त्यसयता सीमावर्ती क्षेत्रमा छिटफुट हिंसात्मक घटना दोहोरिँदै आएका छन् । अफगान अधिकारीहरूका अनुसार जुन महिनामा भएको पाकिस्तानी आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।
पछिल्लो घटनाको पृष्ठभूमिमा कराचीस्थित रेन्जर्स अर्धसैनिक शिविरमा शनिबार भएको आक्रमणलाई लिइएको छ । विस्फोटक पदार्थ र गोली प्रहार गरिएको उक्त घटनामा तीन जना अर्धसैनिक जवान मारिएका थिए । पाकिस्तानले घटनामा संलग्न व्यक्तिहरूमध्ये एक अफगान नागरिकलाई पक्राउ गरिएको जनाएको छ । इस्लामाबादले वर्षौंदेखि पाकिस्तानविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका टिटिपीका लडाकूहरूको आश्रयस्थल र हतियार भण्डारलाई लक्षित गरेर सीमापार सटीक कारबाही गर्न बाध्य भएको बताएको छ । तर अफगान पक्षले आफ्ना भूभागलाई उग्रवादीहरूले प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला महिनाहरूमा भएका पाकिस्तानी कारबाही तथा सीमावर्ती सङ्घर्षका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीको अन्त्यतिर भएको युद्धमा सयौँ मानिस मारिनुका साथै दशौँ हजार नागरिक विस्थापित भएका थिए । त्यसक्रममा सीमाक्षेत्रमा तीव्र लडाइँ भएको थियो भने तालिबानका सर्वोच्च नेता बस्ने दक्षिणी सहर कान्दाहारसहित विभिन्न अफगान सहरहरूमा अभूतपूर्व पाकिस्तानी हवाई आक्रमण भएका थिए ।चीनसहित विभिन्न देशहरूले मध्यस्थताको प्रयास गरे पनि दुई छिमेकी राष्ट्रबीच स्थायी समाधानको पहल सफल हुन सकेको छैन । गत अक्टोबरमा सीमापार हिंसा बढेपछि अधिकांश सीमा नाकाहरू आंशिक वा पूर्ण रूपमा बन्द भएका छन् र दुवै देशबीचको अविश्वास अझ गहिरिँदै गएको छ ।