मङ्गलबार, ३० भदौ २०८३
काठमाडौँ, ५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको हितका लागि अपरिहार्य भएको बताउँदै सबै नेपालीलाई यसलाई सफल पार्न आह्वान गर्नुभएको छ। पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ हीरक महोत्सवमा बोल्दै उहाँले विषम परिस्थितिबाट मुलुकलाई निकाल्दै संविधान र लोकतन्त्रको रक्षा गर्न निर्वाचन महत्वपूर्ण मोड भएको उल्लेख गर्नुभयो।
राष्ट्रपति पौडेलले सुशासन, विकास र समृद्धिको मार्गलाई सुदृढ बनाउने दिशामा आगामी निर्वाचन निर्णायक हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “यो निर्वाचनले देशलाई नयाँ दिशा दिनेछ। लोकतन्त्र र जनताका लागि यो प्रक्रिया अपरिहार्य भएकाले सबैको सक्रिय सहभागिता आवश्यक छ।”शिक्षा क्षेत्रबारे आफ्नो धारणा राख्दै राष्ट्रपति पौडेलले आजको समयमा व्यावहारिक ज्ञान, नैतिक मूल्य र सीपमूलक शिक्षालाई अब्बल बनाउनु अत्यावश्यक रहेको बताउनुभयो। समाज र बजारको मागलाई सम्बोधन गर्ने उच्च गुणस्तरीय शिक्षा स्वदेशमै उपलब्ध गराउन शैक्षिक संस्थाले भूमिका बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले पद्मकन्याको ऐतिहासिक योगदान स्मरण गर्दै नारी शिक्षाको ढोका खोलेको यो क्याम्पस आज मुलुककै प्रमुख प्राज्ञिक केन्द्र बन्न सफल भएको उल्लेख गर्नुभयो। महिला विश्वविद्यालयका रूपमा स्तरोन्नतिको पहलप्रति खुशी व्यक्त गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा यसले नारी सशक्तीकरण र गुणस्तरीय शिक्षामा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले यस शैक्षिक सत्रका विद्यावारिधी प्राप्त विद्या थापा, प्रज्ञा गौतम, भगवति सेडाई, निरन खनाल र अञ्जना पोखरेललाई सम्मान गर्नुभएको थियो। क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधानले क्याम्पसको प्रगति र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।