सोमबार, १८ साउन २०८३
कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन । संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन् । दुवै पक्षले प्रदेशस्तरीय भेला गरिरहेका छन् । संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेशस्तरीय भेला सुरु गरेका हुन् । प्रदेश भेला जारी नै छ ।
इतर पक्षले कोशीबाट देशव्यापी प्रदेशस्तरीय युवा भेला पनि गर्दै छ । भ्रातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ । संस्थापन पक्षलाई दबाब दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढेको इतर पक्षका एक नेताले बताए । ‘पार्टी एकताबद्ध होस् भन्ने हाम्रो कुरा हो । यदि, एकता हुन सकेन भने नयाँ ढंगले जानुपर्ने हुन्छ । सबै विकल्पमा तयार छौँ,’ ती नेताले भने ।
१५औँ महाधिवेशनको निष्पक्षताका लागि साझा संयन्त्र बनाउनुपर्ने इतर पक्षको मुख्य माग छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । इतर पक्षका नेता प्रकाशशरण महत पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए । तर, त्यसका लागि जिम्मेवारी लिएका नेताहरू गम्भीर बन्नुपर्ने उनले बताए । ‘पार्टीलाई एकता बनाउनुपर्छ{ भन्नेमा छौँ । विशेष महाधिवेशनमा एउटा पक्ष बाहिरै थियो भन्ने तथ्य बिर्सनुहुँदैन । १५औँ महाधिवेशन कसरी निष्पक्ष हुन्छ भन्ने नै मुख्य कुरा हो । त्यसका लागि साझा संयन्त्र बनाएर जान सकिन्छ । जिम्मेवारी लिएका साथीहरूले सोच्नुपर्ने कुरा छ,’ उनले भने ।
संस्थापन पक्ष महाधिवेशनको तयारीमा लाग्दै गर्दा इतर पक्षले सदस्यता अद्यावधिक नगर्न आह्वान नै गरेको छ । साझा संयन्त्रमार्फत अघि नबढे छुट्टै महाधिवेशन गर्ने इतर पक्षको चेतावनी छ । संस्थापन पक्षले सदस्यता अद्यावधिकको समय २१ जेठसम्म थपेको छ । वैशाख मसान्तसम्म समय तोकिएकोमा अद्यावधिकको काम नसकिएपछि समय थपिएको हो । सभापति गगन थापाले सबैलार्ई समेटेर जान आफू तयार रहेको बताउँदै १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि बढ्न तयार रहेको सार्वजनिक अपिल गरेका छन् ।
महाधिवेशनको तयारी, निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति र अनुशासन समितिमा पनि सबै पक्षलाई समेटेर जान तयार रहेको उनले बताएका छन् । तर, त्यसका लागि सदस्यता अद्यावधिक गर्नुपर्ने थापाको सर्त छ । तर, इतर पक्ष १५औँ महाधिवेशनका लागि भनेर क्रियाशील नवीकरण गरिसकेको अवस्थामा फेरि सोही महाधिवेशनका लागि दोहोर्याएर गर्नुनपर्ने अडानमा छ । ‘उहाँ नै महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक भएको वेला नवीकरण गरिएको क्रियाशील सदस्यता अहिले फेरि किन अद्यावधिक गरिराख्नुपर्यो ?’ महतले प्रश्न गरे ।कोइराला पक्षको काठमाडौंमा भएको भेलाले पनि १५औँ महाधिवेशनका लागि पहिले नै सदस्यता नवीकरण गरिसकेको भन्दै क्रियाशील अद्यावधिक नगर्ने निर्णय गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।