मङ्गलबार, ३० भदौ २०८३
काठमाडौं । स्वदेशी स्रोत र साधनको अधिकतम उपयोगमार्फत आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको सन्देश दिँदै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ ले आफ्नो ३८औँ स्थापना दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । “वन पैदावारको उत्पादन वृद्धि र उद्यम विकास गरौं, आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी २०८३ साल बैशाख २१ गते आज (सोमबार) महासंघको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रत्तदान कार्यक्रम सन्चालन भएको हो ।
महासंघका पदाधिकारीका अनुसार वनमा आधारित कच्चा पदार्थको प्रभावकारी उपयोग, उद्योग विस्तार तथा रोजगारी सिर्जनामार्फत देशको व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्यलाई स्थापना दिवससँग जोडेर सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाइएको हो। रक्तदान अभियानमार्फत मानव जीवन बचाउन प्रत्यक्ष योगदान दिनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको महासंघले जनाएको छ।
कार्यक्रमलाई प्राविधिक सहयोग त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र, कीर्तिपुरले प्रदान गरेकोछ। महासंघले उद्योगी, व्यवसायी, वन क्षेत्रमा आबद्ध सरोकारवाला तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गर्दै यसलाई ‘मानव सेवासँगै आर्थिक आत्मनिर्भरताको सन्देश बोकेको अभियान’ का रूपमा सफल बनाउन अपिल गरेको थियो।