शुक्रबार, १५ साउन २०८३
एमालेले अधिकांश उम्मेदवार टुंगो लगाएसँगै कतिपय क्षेत्रमा असन्तुष्टि देखिएको छ । एघारौँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई समर्थन गरेकालाई टिकटमा प्राथमिकता नदिइएको गुनासो बढेपछि अध्यक्ष केपी ओलीले कतिपय क्षेत्रको निर्णय अदलबदल गरेका छन् ।उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कार्यालयमा उम्मेदवार छनोटप्रति चारबुँदे नोट अफ डिसेन्ट लेखेलगत्तै दबाबमा परेका ओलीले सचिवालयको निर्णयबाट टुंगिसकेका कतिपय उम्मेदवार अदलबदल गरेका हुन् । भट्टराईलाई ओलीले टिकटबाट वञ्चित गरेका छन् । उनले अघिल्लोपटक जितेको ताप्लेजुङमा क्षितिज थेबेलाई टिकट दिइएको छ ।
अध्यक्षमा पराजित पोखरेल सिफारिस भएको काठमाडौं ५ मा उम्मेदवारको निर्णय भएको छैन । पोखरेल उठ्ने–नउठ्ने अन्तिम टुंगोमा पुगेका छैनन् । यद्यपि, अध्यक्ष ओलीले उनीसँग पनि सम्पर्क गरेर परामर्श गरेका छन् । पोखरेलले सोमबारसम्म अन्तिम निर्णयमा पुग्ने जानकारी गराएका छन् । उपाध्यक्ष विष्णु पौडेल लामो समयदेखि उठेर जित्दै आएको रुपन्देही २ छाडेर पाल्पा २ मा जाने निर्णयले लुम्बिनी प्रदेशमा गलत सन्देश जाने भन्दै नेता–कार्यकर्ता असन्तुष्ट देखिएपछि उनको उम्मेदवारी पुरानै क्षेत्रमा कायम हुने गरी फिर्ता भएको छ । ०६४ मा तत्कालीन माओवादीले जित्दासमेत पौडेल रुपन्देही २ बाटै विजयी भएका थिए । तर, अहिले पाल्पा जाँदा लुम्बिनीमै कमजोर भएको सन्देश जाने देखिएको भन्दै पौडेललाई पुरानै क्षेत्रमा उठ्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् । पाल्पा २ बाट अघिल्लोपटक ठाकुर गैरे विजयी भएका थिए ।
पोखरेलकै समूहबाट महासचिव उठेका सुरेन्द्र पाण्डेलाई पनि टिकट दिइएन । उनले उठ्ने रुचि नै नदेखाएका कारण तलैबाट कमिटीहरूले नाम सिफारिस गरेका थिएनन् । यद्यपि, ओलीले उनलाई बोलाएर परामर्श नगरेकोमा पोखरेलनिकट नेता–कार्यकर्ता असन्तुष्ट छन् । तर, ओलीनिकट एक पदाधिकारीले भने पाण्डेबाट सहमति लिएरै निर्णय गरेको दाबी गरे । उपमहासचिव भट्टराईलाई अध्यक्ष ओलीले नै ताप्लेजुङमा यसपटक जित्ने सम्भावना नभएको भन्दै टिकट होल्डमा राखेका थिए । सो क्षेत्रमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलाई टिकट दिने निर्णय सुनाएर भट्टराईलाई भने झापा १ मा उठ्न ओलीले आग्रह गरेको एक पदाधिकारीले बताए । तर, भट्टराईले क्षेत्र नफेर्ने अडान राखेर अस्वीकार गरेका छन् ।
पोखरेल समूहबाट पदाधिकारीमा उठ्नेमध्ये अहिलेसम्म उनीसहित उपाध्यक्ष गोकर्ण विष्टको मात्र टिकट निश्चित भएको छ । पोखरेल समूहबाटै उपाध्यक्षमा उम्मेदवार बनेकी विन्दा पाण्डे, उपमहासचिवका उम्मेदवार बैजनाथ चौधरी, सचिवका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, अग्नि खरेल, गोकुल बाँस्कोटालगायतले टिकट पाएनन् । सचिवमै उठेका विनोद ढकालको क्षेत्र होल्ड गरिए पनि ओलीले उनलाई आफ्नै निवास रहेको क्षेत्रमा उठ्न आग्रह गरेका छन् । त्यससँगै उनलाई ओलीले मोरङ ६ को टिकट दिएका छन् । ‘मलाई नेताहरू र साथीभाइ शुभचिन्तकहरूले आफ्नै निवास भएको क्षेत्रमा उठ्न आग्रह गर्नुभो, त्यसअनुसार मलाई अध्यक्षले त्यही क्षेत्रको टिकटको निर्णय सुनाउनुभएको छ,’ ढकालले भने ।
ओलीले महासचिव शंकर पोखरेलकै टिकट एक दिन होल्ड गरेका थिए । तर, अध्यक्षसँगको परामर्शमा पोखरेलले पुरानै क्षेत्र दाङ २ को टिकट लिएका छन् । दाङ १ को उम्मेदवार टुंग्याउने जिम्मा पनि उनलाई नै दिइएको छ । ओली प्यानलबाटै निर्वाचित उपाध्यक्ष रघुजी पन्तले टिकट पाएनन् । सचिव भानुभक्त ढकाललाई मोरङबाट तेह्रथुममा उठ्ने गरी टिकट दिइएको छ । अर्का सचिव डा. राजन भट्टराई काठमाडौं ४ बाट उठ्ने–नउठ्ने टुंगो लागेको छैन । कांग्रेसका सभापति गगन थापासँग पराजित हुँदै आएका उनले खासै रुचि नराखेपछि प्रदेश कमिटी सदस्य तथा बुढानीलकण्ठका पूर्वमेयर उद्धव खरेल अग्रसर भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।