शुक्रबार, १५ साउन २०८३
नुवाकोट–१ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल दिनप्रतिदिन तातिँदै गएको छ। लामो समयदेखि पालैपालो सत्ता र प्रतिनिधित्व गर्दै आएका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई यसपटक मतदाताबाट नयाँ ढंगको प्रश्नको सामना गर्नुपरेको छ।
स्थानीय तहदेखि संघसम्म पुराना दलहरूले गरेको नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा मतदाताको ठूलो हिस्सा “विकल्प” खोज्ने मनस्थितिमा पुगेको देखिन्छ। यही परिवेशमा डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा आक्रामक उपस्थिती जनाएको छ ।
त्यस्तै यस अघि निर्वाचनमा भाग लिएको रास्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले समेत आफ्नो बलियो उपस्थिति देखाउन थालेको छ। नुवाकोट- १ मा कांग्रेसबाट पहिलो पटक डा.प्रकाश शरण महतले निर्वाचनमा भाग लिन लागेका छन् भने यस अघिको निर्वाचनमा पराजित भएका बद्रि मैनाली एमालेबाट चुनावी मैदानमा छन्। बि.स.२०७४ र ७९ गरि २ पटक बिजयी भएका हित बहादुर तामाङ नेकपाबाट निर्वाचनमा होमिएका छन्। पुर्व माओबादी पृष्ठभूमि भएका राजन गौतम प्रलोपाबाट निर्वाचन लडेका छन् भने रास्वपाबाट डा.बिक्रम तिमिल्सिना चुनावी मैदानमा छन्।
पुराना दलप्रति बढ्दो असन्तुष्टि
ग्रामीण क्षेत्रमा पर्ने यस ठाउमा मतदातासँग गरिएको संवादमा मुख्य गुनासो विकासको असमान वितरण, रोजगारी अभाव र पुरानै अनुहार दोहोरिनु रहेको छ। कांग्रेस र एमाले र नेकपाले संघीयता र संविधान कार्यान्वयनको प्रतिबद्धता दोहोर्याए पनि स्थानीय तहसम्म प्रभावकारी सेवा प्रवाह हुन नसकेको आरोप मतदाताबाट सुनिन्छ । माओवादी आन्दोलनको उपलब्धि, गणतन्त्र र संघीयताको संस्थागत विकासलाई सबै दलले आफ्नो उपलब्धि भने पनि व्यवहारमा सुशासनको अभावले जनविश्वास कमजोर भएको बताउँछन्।
प्रलोपा : परिवर्तनको नारासहित उदीयमान शक्ति
आम नागरिकमा देखिएको असन्तुष्टिलाई पूँजीकरण गर्दै प्रलोपा “सुधार, सुशासन र समावेशी विकास” उन्नत बिचार सहितको बिकल्प को मूल नारासहित मतदाता माझ पुगेको छ। प्रलोपा उम्मेदवारले घरदैलो अभियानमा संघीयताको सुदृढीकरण, युवालाई स्थानीय स्तरमै रोजगारी, कृषि आधुनिकीकरण र पारदर्शी बजेट व्यवस्थापनलाई प्राथमिकता दिएको बताइरहेका छन्। पार्टीले परम्परागत शक्ति–सन्तुलन तोड्दै नुवाकोट–१ लाई “नयाँ राजनीतिक संस्कृतिको प्रयोगशाला” बनाउने दाबी प्रलोपाले गरेको छ । स्थानीय युवाहरु प्रलोपा युवा र पहिलोपटक मतदान गर्ने मतदाताबीच लोकप्रिय बन्दै गएको बताउँछन् । सामाजिक सञ्जालमा सक्रिय प्रचार, स्पष्ट एजेन्डा र स्थानीय नेतृत्वको उपस्थितिले पार्टीलाई प्रतिस्पर्धी र थप बलियो बनाएको देखिन्छ।
मतदाताको मनोविज्ञान : स्थायित्व कि परिवर्तन?
नुवाकोट–१ मा मतदाताको मनोविज्ञान दुई धारमा विभाजित भएको पाउन सकिन्छ । एकथरी मतदाता स्थायित्व र अनुभवी नेतृत्व चाहन्छन् भने अर्काथरी मतदाता नयाँ सोच र नयाँ अनुहारलाई अवसर दिनुपर्ने भन्ने तर्क गर्छन्। गाउँका किसानदेखि विदेशबाट फर्किएका युवासम्म र विदेश भएकाहरुको मत समेत “यो पटक फरक निर्णय गर्नुपर्छ” भन्ने चर्चा बाक्लिँदै गएको छ। पुराना दलका स्थानीय कार्यकर्ताहरू समेत आन्तरिक असन्तुष्टिका कारण विभाजित देखिएका छन्।
प्रतिस्पर्धा रोचक बन्दै
यसपटकको प्रतिस्पर्धा परम्परागत दुई ध्रुवीय नभई रोचक बन्ने संकेत देखिएको छ । कांग्रेस,नेकपा र एमालेले आफ्नो परम्परागत मत आधार जोगाउने रणनीति र प्रभावशाली प्रचारमा जोड दिएका छन्। तर प्रलोपा र रास्वपाले भने प्रत्यक्ष जनसम्पर्क र स्थानीय मुद्दामा केन्द्रित अभियानमार्फत मत परिवर्तनको लहर सिर्जना गर्ने लक्ष्यमा लागेको देखिन्छ ।
नुवाकोट-१ परिवर्तनको प्रतीक बन्न सक्ने
नुवाकोट–१ को निर्वाचन परिणामले केवल एक प्रतिनिधि चयन गर्ने मात्र होइन,यसले पुरानो राजनीतिक संरचनाप्रति जनताको सन्तुष्टि वा असन्तुष्टिको संकेत पनि दिनेछ। मतदाता परिवर्तनतर्फ यदि उन्मुख भए भने प्रलोपा र रास्वपा जस्ता नयाँ शक्तिको उदयले राष्ट्रिय राजनीतिमा समेत नयाँ समीकरण जन्माउन सक्छ । तर परम्परागत संगठनात्मक मजबुती कायम राख्न सफल भए पुराना दलहरूले आफ्नो प्रभाव जोगाउन सक्नेछन्। नुवाकोट–१ अहिले राजनीतिक प्रयोगको केन्द्र बनेको छ—जहाँ मतदाताको अन्तिम निर्णयले आगामी राजनीतिक दिशालाई स्पष्ट पार्नेछ।