शुक्रबार, १५ साउन २०८३
काठमाडौं । आज रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमान गर्दै देशभरका अधिकांश पेट्रोलपम्प व्यवसायीले नेपाल आयल निगमका डिपोबाट दैनिक खपतभन्दा कम परिमाणमा इन्धन उठाएका छन्।
मंगलबार इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ खरिद मूल्य आउने र निगमले आजै मूल्य समायोजन गर्ने अपेक्षामा व्यवसायीले महँगोमा तेल किनेर सस्तोमा बेच्नुपर्ने जोखिम टार्न कम मात्रामा इन्धन उठाएका हुन्।
यसैबीच, मूल्य समायोजनका लागि नेपाल आयल निगमको सञ्चालक समितिको बैठक साँझ बोलाइएको छ। यता, मूल्य बढ्ने वा घट्ने जानकारी निगमभित्रबाटै चुहिने गरेको आशंका पनि दोहोरिएको छ। गत चैतमा यस्तै घटनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।