मङ्गलबार, ३० भदौ २०८३
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको रोस्टमबाटै नेपाली सेनामाथि पटक–पटक गम्भीर आक्षेप लगाउँदै आएका छन् । बादलले १९ चैतमा पहिलोपटक सदनबाट सेनालाई आरोपित गर्दा पार्टीभित्रकै केही नेताले समेत विरोध गरेकामा मंगलबार दोस्रोपटक फेरि दोहोर्याएको उस्तै अभिव्यक्तिलाई सभामुख डिपी अर्यालले संसद्को रेकर्डबाटै ‘डिलिट’ गर्न लगाएका छन् । प्रश्न उठेको छ– सेनाबारे संसद्बाट निरन्तर दिएको विवादास्पद अभिव्यक्ति एमालेको ‘लाइन’ नै हो कि दलका नेता बादल नसच्चिएका हुन् !
१९ चैतको संसद् बैठकमा उनले रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेनादेखि सुशीला सरकार, विदेशी शक्तिकेन्द्रहरू लगायतले ठुलो भूमिका खेलेको दाबी गरेका थिए । त्यस्तै, बजेट अधिवेशनको पहिलो दिन मंगलबार दलको नेताको हैसियतमा सम्बोधन गर्दै उनी अघिल्लो सम्बोधनमा जस्तै जेन–जी आन्दोलन र नेपाली सेनाको भूमिकाप्रति आक्रामक रूपमा प्रस्तुत भए । ‘नीति तथा कार्यक्रम राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति सरकारको नीति तथा कार्यक्रम किन मौन ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा सेना रहस्यमयी ढंगबाट किन मूकदर्शक ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दै छ ?’ बादलले लगातार सरकारमाथि प्रश्न गरेका थिए ।
राजनीतिशास्त्री कृष्ण पोखरेल बादलले केपी ओलीको ‘लाइन’ बोलेको बताउँछन् । ‘उहाँ (बादल)ले आफैँ बोलेकै होइन, केपी ओलीको विचार, लाइन बोल्नुभएको हो, किनभने उहाँ दलको नेता पनि ओलीजीकै समर्थनमा बन्नुभो, अरू पदाधिकारी पनि अध्यक्षकै परामर्शमा तोकिएकाले उहाँ अहिले नजिकको विश्वासपात्र बन्नुभएको छ,’ उनले भने, ‘नेपाली सेनाले साथ नदिएकै कारण आफू सत्ताच्युत हुनुपरेको तुष उहाँभित्र अझै कायम छ, त्यसैले आफ्नो राजनीतिक लाइन अहिले बादलजी मार्फत प्रकट गरिरहनुभएको छ ।’
एमाले पदाधिकारी तहमा रहेका उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमनका पक्षमा रहेका कारण उनीहरू अहिले बादलको तहमा ओर्लिएर अध्यक्षको लाइन नबोलेको पनि पोखरेलको बुझाइ छ । उनले नेपाली सेनालाई विवादतमा तान्नु गलत भएको पनि बताए ।‘नेपाली सेना जहिले पनि जता शक्ति हुन्छ, त्यतै ढल्किने र पक्षमा उभिने गर्दै आएको सत्य हो । नाकाबन्दीताका केपीजीलाई पनि सेनाले साथ दिएकै हो, जेन–जी आन्दोलनताका उहाँले सेनाको सुझावलाई नजरअन्दाज गर्दा संस्था ज्यादा रिसाएको हुन सक्छ । त्यसैले आफूलाई सहयोग गरेन भन्ने ठानेर व्यक्तिगत तुष अहिले जिम्मेवार संस्थाप्रति अराजनीतिक तरिकाले प्रकट गराउनु गलत छ,’ उनले भने ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बादलले लगातार सरकारमाथि प्रश्नहरूको वर्षा गरेपछि रास्वपाका कतिपय सांसदले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए । खासगरी नेपाली सेनालाई विवादमा तान्न खोजेकोमा रास्वपाले मात्र होइन, विपक्षी बेन्चमै रहेका श्रम संस्कृति पार्टी र राप्रपाले पनि आपत्ति जनाएका थिए । सभामुख डोलप्रसाद अर्यालले जेन–जी आन्दोलनसँग जोडिएको देश जलाउने देशद्रोही रास्वपाको ‘अराजक जत्था’ र ‘नेपाली सेना मूकदर्शक’ शब्द अशिष्ट र अमर्यादित भन्दै रेकर्डबाट हटाइएको जानकारी दिएका छन् । तर, एमाले प्रमुख सचेतक ऐन महरले त्यसप्रति आपत्ति जनाउँदै हटाउनुको कारण मागेका थिए । दलको उपनेता पद्मा अर्यालले नेता बादलले सत्यतथ्यमा आधारित प्रश्न उठाउँदा दुईवटा शब्द हटाउने कुरामा आपत्ति रहेको बताइन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।